मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक


काठमाडौं । मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक पुगेको छ। साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ। लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो। १० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ। उपाधि होडमा रहेको मनाङ शनिबार थ्रीस्टारसँग बराबरीमा रोकिएपछि त्यसको प्रत्यक्ष फाइदा मच्छिन्द्रलाई पुगेको हो।
लिगमा मच्छिन्द्रले अब सातदोबाटो, थ्रीस्टार र विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। मनाङले भने एपीएफ, एनआरटी र त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। शनिबार भएको खेलमा शीर्ष स्थानको मच्छिन्द्रले च्यासलविरुद्ध सहज जित निकाल्दा मनाङले भने चिरप्रतिद्वन्द्वी थ्रीस्टार क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २–० गोलले हरायो। मच्छिन्द्रलाई सहज जित दिलाउन विमल घर्तीमगर र सुनील बलले एक÷एक गोल गरेका थिए। खेलको १७औं मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। रञ्जित धिमालको कर्नरलाई सदुपयोग गर्दै विमलले गोल गरेका थिए। खेलको ३५औं मिनेटमा सुनील बलले गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाएका थिए।
यसैगरी अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्य भएको हो। खेलको ६२औं मिनेटमा वैकल्पिक खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। कप्तान अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै दयानन्दले हेड गोल गरेका थिए। ७१औं मिनेटमा ऋतिककुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई खेलमा फर्काएका थिए। त्यसपछि दुवै टोलीले पाएका अवसरको सदुपयोग गर्न नसक्दा एक\एक अंक बाँड्न बाध्य भए।
१० खेलमा १७ अंक जोडेको थ्रीस्टार तालिकाको चौथो स्थानमा छ। यसैगरी १० खेलमा पाँच अंक जोडेको च्यासल भने लिगको पुछारमा छ।
सातदोबाटोसँग पुलिस स्तब्ध
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नै शनिबार भएको खेलमा नेपाल पुलिस क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ। सातदोबाटोस्थित एन्फा कप्लेक्समा भएको खेलमा सातदोबाटोले पुलिसलाई १–० गोलले हराएको हो।
सातदोबाटोलाई जित दिलाउन आकाश बुढामगरले १९औं मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरेका थिए। पुलिसका हेमन्त श्रेष्ठले डी एरियाभित्र आकाशलाई फल गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो। जसलाई आकाशले सदुपयोग गरेका थिए। अन्नपूर्ण पोष्टबाट साभार





