रियाल बराबरीमा रोकियो


काठमाडौं । गारेथ बेलले झन्डै ६ महिनापछि पहिलोपटक खेलेको दिन रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा भियारियालसँग गोलरहित बराबरी खेलेको छ ।वेल्सका कप्तान बेलले रियालबाट २८ अगष्टमा रियाल बेटिसविरुद्ध खेलेका थिए । उक्त खेलमा रियाल १–० ले विजयी भएको थियो ।
३२ वर्षे फरवार्ड बेलले त्यसपछि रियालका लागि खेलेका थिएनन् । उनले दोस्रो हाफको सुरुमै गोलका लागि गरेको प्रयास क्रसबारमा लागेर फर्किएको थियो । घरेलु टोली भियारियालका अर्नाउट डानजुमाले पहिलो हाफमा हानेको प्रहार बारमा लागेर फर्किएको थियो । त्यस्तै रियालका लुका जोभिचको प्रहार पनि बारमा लागेर फर्किएको थियो । करिम बेन्जेमा घाइते भएका कारण उपलब्ध नभएपछि बेलले भिनिसियस जुनियर र मार्को एसेन्सियोसँग रियालको अग्रपंक्तिको नेतृत्व गरेका थिए ।
बराबरीपछि रियाल २४ खेलबाट ५४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको सेभियाले समान खेलबाट ५० अंक जोडेको छ । भियारियाल ३६ अंकका साथ पाँचौं स्थानमा छ । स्पेनिस ला लिगाको अन्य खेलमा नवौं स्थानको ओसासुनाले ११औं स्थानको रायो भायोकानोलाई ३–० ले हरायो । दशौं स्थानको सेल्टाभिगोले रेलिगेशन क्षेत्रको कार्डिजसँग गोलरहीत बराबरी खेल्यो ।





