ट्वान्टी–२० शृंखलामा नेपालले ओमानलाई ६ विकेटले हरायो


काठमाडौ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो । दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएपछि नेपालले जितेको हो ।
दिपेन्द्रले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे ।
टी–ट्वान्टीमा दिपेन्द्रको सर्वाधिक रन हो । यसअघि उनले ६० रन बनाएका थिए । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन प्रहार गरे ।
ओमानका कलिमुल्लाहले २ विकेट लिँदा खवार अलीले १ विकेट हात पारे । ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो ।
ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रन जोडे । ९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे । नेपालले शनिबार युएईसँग खेल्ने छ ।





