देश

    चितवन आउँदै गरेको बस हेटौंडामा दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

    जगत ठाडा मगर
    २०७७ पुस ११ | मध्यान्ह ०४:०९ बजे

      हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

      हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

      दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

        कमेन्टहरु