नयाँ शाखा अधिकृतको रोजाइ गृह प्रशासन


काठमाडौ । नवनियुक्त शाखा अधिकृतहरूको पहिलो रोजाइमा गृह प्रशासन परेको छ । लोकसेवाबाट शाखा अधिकृतमा उत्तीर्ण भएका तीन सय ७७ जना (अनलाइन फर्म भरेका तीन सय ७०) लाई पदस्थापनाका लागि रिक्त निकाय छनोट गर्न अनलाइन आवेदन माग गरिएकामा सयजनाले गृह मन्त्रालय वा अन्तर्गतका निकाय रोजेका छन् ।
जब कि गृह मन्त्रालय वा अन्तर्गतका निकायमा ८७ शाखा अधिकृतको मात्रै माग भएको थियो । सबैभन्दा बढी एक सय ३० शाखा अधिकृत माग भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय भने ६४ जनाले मात्रै रोजेका छन् । त्यस्तै, सञ्चार मन्त्रालय वा अन्तर्गतमा ४३ र उद्योग वा अन्तर्गतमा ९६ जनाले इच्छा देखाएका छन् ।
संघीय मामिला (स्थानीय तहसमेत) एक सय ३० जनाले रोजेका छन्, ९६ जनाले विभिन्न मन्त्रालय, आयोग रोजेका छन् ।‘नयाँ शाखा अधिकृतको रोजाइ पनि गृह प्रशासन नै देखियो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले भने, ‘रिक्त स्थानमा पठाउन सहज होस् भनेर अनलाइन आवेदन मागेका हौँ, सबैले रोजेकै ठाउँमा त पाउँदैनन् । तर, प्राथमिकताका आधारमा पदस्थापन हुन्छ ।’
संघीय मामिला रोजेकामध्येबाट पनि स्थानीय तह रोज्ने न्यून छन् । जसमा सबैभन्दा बढी लुम्बिनीमा ३६ जनाले रोज्दा सुदूरपश्चिम रोज्ने आठजना मात्र छन् । प्रदेश १ का स्थानीय तह रोज्ने २५, मधेस १४, बागमती १८, गण्डकी २१ र कर्णाली रोज्ने १२ जना छन् । एकजनाले तीनवटासम्म निकाय रोज्न पाउने गरी २३ माघमा अनलाइन आवेदन माग गरिएको थियो । उपसचिव थापाका अनुसार नवननियुक्त शाखा अधिकृतलाई शुक्रबार वा शनिबारसम्म पदस्थापन गरिनेछ । ‘त्यसपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिइनेछ,’ उनले भने ।





