मामा बनेर नाबालकको सुनको मुन्द्रा लुट्ने र खरीद गर्ने दुबै जना पक्राउ


काठमाडौं, माघ २७ । मामा बनेर नाबालकको कानबाट सुनको मुन्द्रा लुट्ने र खरीद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धले मामा बनेर नाबालकको कानबाट सुनको मुन्द्रा लुट्ने गोकर्णश्वर- ४ निवासी ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा खरीद गर्ने गोकर्णस्थित न्यू लक्की सुनचाँदी पसलका सञ्चालक ३० वर्षीय राजकुमार बराइलीलाई पक्राउ गरिएको हो ।
श्रेष्ठले माघ ८ गते कामपा- ६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाएर समता स्कुल पछाडि लगेर कानमा लगाएको चार आना बराबरको सुनको मुन्द्रा लुटेर लगेका थिए । उनले लुटेको मुन्द्रा सुनचाँदी पसल संचालक बराइलीलाई बेचेका थिए ।
उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा बुधबारबाट लागू हुने गरी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर बौद्ध वृत्तले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।





