सिद्धबाबा सुरुङमार्ग बुटवल – नारायणगढ सडक चाइना स्टेट कम्पनीले निर्माण गर्ने


सुरज नेपाली
बुटवल । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम चिनियाँ कम्पनीले गर्ने भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको छ ।
सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिष्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।
यो कम्पनीले बुटवल-नारायणगढ सडक बिस्तारको काम गरिरहेको छ । तर सडक बिस्तारको काम भने निकै सुस्त भईरहेको छ । सिद्धबाबा सुरुङ मार्गमा पनि यस्तै ढिलासुस्ती हुने आशंका सरोकारवालाहरुले औंल्याउन थालेका छन् । यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो ।
यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ । तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी छ । यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्दी कोभेक–सीआरईजीसी जेभीले सात अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ । चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले नौ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । चाइना फर्सट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ । ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको छ । तर, विभागले यसबारे अन्तिम निर्णय गरिसकेको छैन् ।
केपी ओली नेतृत्वका सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी) ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ । सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि तीन हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ । करिब पाँच वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।
सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ । गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । सवैभन्दा बढी २०५४ सालमा एउटै घटनामा ३२ जनाको ज्यान गएको प्रहरीको तथ्यांक रहेको छ





