मुख्य समाचार

    पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा उठ्छु : मेयर शाक्य

    जगत ठाडा मगर
    २०७८ माघ २७ | मध्यान्ह ०१:१० बजे

      काठमाडौं, माघ २७ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी बताएका छन् ।

      बिहीबार काठमाडौं महानगरपालिका–२१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा मेयर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि मेयरमा उठ्ने बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताए । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए ।

      शाक्यले भने, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौं । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो ? त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को कुरा महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।’

      मेयर शाक्यले महानगरपालिकाका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताए । मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागिरहने प्रतिवद्धता समेत जनाए ।

      उनले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गर्ने पनि बताए ।

        कमेन्टहरु