लुटपाटकाे झुटाे सूचना दिने दुई जना पक्राउ


बिनोद मण्डल
सिरहा, माघ २७ । लुटपाटको झुटाे सूचना दिने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाधाम नगरपालिका– ७ का दिपनारायण यादव र आशाराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले आफ्नो कार र कारभित्र रहेको दुई लाख रुपैयाँ वडा नम्बर ७ कै श्रवणकुमार चौधरी र उनीसँग आएका केही युवाहरूले लुटेर लगेको झुटाे सूचना प्रहरीलाई दिएका थिए ।
सूचना पाएलगत्तै प्रहरीले श्रवणलाई नियन्त्रणमा लिएको थियो । पछि श्रवण र दिपनारायणलाई सँगै राखेर सोधपुछ गर्दा रिसिबीका कारण श्रवणलाई फसाउन आफूले झुटो सूचना दिएको दिपनारायणले स्वीकार गरेको प्रहरीले जनाएको छ । झुटो सूचना प्रहरीलाई दिन सहयोग गर्ने दिपनारायणका साथी कार मालिक आशारामलाई समेत पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको छ ।





