शताब्दी पुरुष जोशीलाई भेट्न अस्पताल पुगे स्वास्थ्य मन्त्री

जगत ठाडा मगर
२०७८ माघ २७ | बिहान ०८:१० बजे

काठमाडौं, माघ २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । श्वास प्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
उनलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।





