खेलकुद

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : नेपाल पुलिस क्लबलाई तीन अंक

    जगत ठाडा मगर
    २०७८ माघ २७ | बिहान ०७:१० बजे

      काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो।

      पुलिसलाई जित दिलाउन रविशंकर पासवानले दुवै गोल गरेका हुन्। च्यासलका मौसा अबागानाले एक गोल फर्काएका थिए । खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। नीरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

      पहिलो हाफमा १–० गोलले पछि परेको च्यासल ५३औं मिनेटमा खेलमा फर्किएको थियो। मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो। जसलाई मौसाले सदुपयोग गरेका थिए।

      त्यसपछि खेलको ७०औं मिनेटमा रवि पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए। सुमन लामाले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए। ८७औं मिनेटमा च्यासलले गोलको सुवर्ण अवसर गुमाएको थियो। विकास मेराग्लियाले उपलब्ध गराएको पासलाई कर्ण सुब्बाले सदुपयोग गर्न सकेनन्। यसैगरी इन्जुरी समयमा यान्निक केचाको प्रहार पोस्ट्मा लागेर बाहिरिँदा च्यासल पराजय बेहोर्न बाध्य भयो।

      पुलिसका रवि पासवान प्लेयर अफ दी म्याच चुनिए। उनले १० हजार पुरस्कार पाए। जितसँगै पुलिसले नौ खेलमा १० अंक जोडेको छ। पुलिस लिगको १०औं स्थानमा उक्लिएको छ। नौ खेलमा पाँच अंक जोडेको च्यासल १३औं स्थानमा यथावत छ। फ्रेन्ड्ससँगै च्यासल पनि रेलिगेसन क्षेत्रमा छ।

      खेलपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले तीन अंकका लागि खेलेको बताउँदै जितमा खुसी रहेको बताए। ’आजको खेलमा हामीलाई तीन अंक आवश्यक थियो। त्यो तीन अंक पायौं’, उनले भने, ‘टोलीमा अझै सुधार गर्नुपर्ने आवश्यक छ।’ च्यासलका प्रशिक्षक लेइघ मानसनले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए।

        कमेन्टहरु