संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आले विरुद्ध पर्यटन बोर्डका ‘निलम्बित’ सीईओद्वारा सर्वोच्चमा मुद्दा दायर


काठमाडौं, माघ २६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।
नेपाल पर्यटन बोर्डका ‘निलम्बित’ सीईओ धनञ्जय रेग्मीले मन्त्री आलेसहित पर्यटन बोर्डका ९ सदस्यविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। सर्वोच्च अदालतले गत पुस १४ गते रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।
अदालतमा विचाराधीन रहेको विषयमा आफूलाई सरकारले स्पष्टीकरण सोधेको भन्दै रेग्मीले मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कर्मचारीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि सरकारले उनीमाथि छानबिन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका थिए।
न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुन: बोलाएको छ। सीईओ रेग्मीले पर्यटन सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्र रिजालसहित अन्य सदस्य र पर्यटन विभागका महानिर्देशक तथा आमन्त्रित सदस्य तारानाथ अधिकारी सहित ९ जनाविरुद्ध मानहानी र अवहेलनाको मुद्दा दायर गरेका छन्।
त्यस्तै बोर्ड सदस्य पम्फादेवी धमला, विप्लव पाैडेल, डावा ङिमा शेर्पा, कृष्णकुमार शाह, होमप्रसाद लुईँटेललाई पनि विपक्षी बनाइएको छ।





