खोटाङमा गाेरु काटेकाे अभियाेगमा पक्राउ परेकाहरुलाई बिना सर्त रिहाइको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र


दिपेश श्रेष्ठ
दिक्तेल । खाेटाङमा गोरु काटेको अभियोगमा माघ २३ गत्ते पक्राउ परेका ३ जनालाई बिना सर्त रीहाईको माग गर्दै नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापन पत्र बुझाएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यलयमा सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठ मार्फत प्रधानमन्त्रीको कार्यालय सिहदरवार, सभामुख तथा सबै राजनीतीक दल तथा जातीय संघ सस्थाहरुको केन्द्रीय कार्यालयलाई एकमुष्ट ज्ञापन पत्र बुझाएको हो ।
देश संघियता र धर्मनीरपेक्ष घोषणा भई सक्दा पनि आदिवासी जनजातिहरुले आफ्नो धर्म सस्कार सस्कृति परम्परा अनुसार गोरुको मासु खाएकोमा प्रहरी प्रशासनले धरपकट गर्ने, मुद्दा लगाउने कार्य गरेकोले पक्राउ परेकाहरुलाई निसर्त नछाडे जस्तो सुकै मुल्य चुकाउन आम देश भरका आदिवासी जनजातीहरु तयार रहेको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद खोटाङका अध्यक्ष फुर्वा शेर्पाले धारणा व्यक्त गरे ।
बिगत दुईसय पचास बर्ष अघिबाट नै नेपालका आदिवासी जनजातीहरु माथि घोर अन्याय र अत्याचार भएको भन्दै ३ जना तामाङलाई थुनेर नेपालका आदिवासी जनजातीहरु माथि अन्याए अत्याचार भएकोले संबिधानमा धर्म निरपेक्षता उल्लेख भए अनुसार ३ जनालाई यथा शिघ्र बिना सर्त छोडिनु पर्ने नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद खोटाङका सल्लाहाकार धनीराम राईले धारण राखे।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ गत २३ गत्ते पक्राउ परेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउँमा आइतबार दिउँसो करिब ४ बजे गोरु काटेर बेचिरहेको अवस्थामा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए।
प्रहरीका अनुसार उनीहरूको साथबाट गोरु काटेको भनिएको एउटा बन्चरो र चार वटा खुकुरी पनि बरामद गरिएको छ । उनीहरूलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । पक्राउ परेका तीनै जनालाई २४ गत्ते नै एक हप्ताको लागी म्याद थप गरि पशुपन्क्षी ऐन अन्तरगतको मुद्दा चलाई अनुसन्धान भईरहेको प्रवक्ता साहले बताए ।
अनुसन्धान पश्चात गाई गोरु काटेको ठहरिएमा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिक्षेद २७ को दफा २८९ अनुसार कसैले गाई वा गोरु मार्नु हुन्न भन्ने रहेकोले यदी मारेको प्रमाणित भएमा ३ बर्ष सम्म कैद सजाए रहने ब्यवस्था रहेको छ ।





