विद्युतीय भोटिङ मेसिन प्रयोगको अध्ययन गर्न आयोगले बनायो कार्यदल

जगत ठाडा मगर
२०७८ माघ २६ | मध्यान्ह ०६:१० बजे

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
बुधबार आयोगले विज्ञ र सरोकारवाला मन्त्रालयका पदाधिकारीसँग छलफल गरेर कार्यदल बनाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठित कार्यदलमा आयोगका पदाधिकारी, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, नास्टलगायतका निकायका प्रतिनिधि सदस्य छन् ।
कार्यदललाई अध्ययन गरेर प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोग विद्युतीय मतदान गराउन तयार रहेको बताए । ‘हामी तयार छौं । अध्ययन प्रतिवेदन आएपछि हामी अघि बढ्छौं,’ उनले भने ।





