सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान


मङ्गलबारे – इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ। नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो। इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो।
आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ। नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर विनायक भट्टराईले जानकारी दिए। उनका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन।
विमानस्थल कालोपत्र गरिनुअघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो। काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा अवतरण गरेको थियो। ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ।
विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ। (रासस)





