विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा


काठमाडौं । विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्टकाे परीक्षा हुने भएकाे छ । भन्सार विभागले गत चैत १६ मा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे ।
तर, २९ माघका लागि तय भएकाे परीक्षा काेराेना महामारीका कारण स्थगित भएकाे भन्दै भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेकाे हाे । जसअनुसार २८ फागुन दिउँसाे २ बजे लिखित परीक्षा तय भएकाे छ । तर परीक्षा केन्द्र भने निर्धारण भइसकेकाे छैन । भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेकाे हो ।
पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामाे समयसम्म प्रक्रिया अगाडि बढ्न सकेकाे थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने छन् ।
एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित परीक्षा हुने छ । भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनाेट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।





