मुख्य समाचार

    स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने प्रहरी प्रधान कार्यालयको तयारी

    जगत ठाडा मगर
    २०७८ माघ २५ | मध्यान्ह १२:१० बजे

      काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो ।

      यही माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरिएको हो । समितिले आवश्यक कामहरू सुरु गरेको डीआईजी धानुकले जानकारी दिए । आज पनि सुरक्षा समितिको बैठक बस्दै छ ।

      यस्तै, प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेको छ । कार्यालयले एक लाखकै हाराहारीमा म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव अघि बढाउने तयारी समेत गरेको छ । केही दिनभित्रै प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।

        कमेन्टहरु