सरकारद्वारा राष्ट्रपति चुरे विकास समितिका पदाधिकारी बर्खास्तीमा


काठमाडौ । सरकारले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेस भएको ‘सफाइ सन्तोषजनक नभएको’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले अध्यक्ष किरण पौडेल तथा सदस्यहरू कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गर्ने निर्णय गरेको हो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ३० पुसमा मन्त्रिपरिषद्बाटै निर्णय गराएर चुरेका पदाधिकारीसँग ५ माघमा लिखित स्पष्टीकरण सोधेका थिए ।
तर, उनीहरूले पत्र नै नबुझेपछि वन मन्त्रालयले पाँच दिनको म्याद दिएर ६ माघमा सफाइ पेस गर्न सार्वजनिक सूचना जारी गरेको थियो । पौडेलसहित पदाधिकारीले माघ दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सफाइ पेस गरेर वन मन्त्रालयमा बोधार्थ पठाएका थिए । तर, वनमन्त्री यादवले बर्खास्तीको प्रस्ताव लगेपछि मन्त्रिपरिषद्बाट निर्णय भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तत्कालीन अध्यक्ष पौडेल र चार सदस्यलाई २३ चैत ०७७ मा नियुक्त गरेको थियो ।





