सरकारले दियाे फाप्लालाई ३८ विघा जग्गा, मूर्त रूप लिँदै सुदुरमा महत्वाकांक्षी योजना


घनगढी । सम्पूर्ण सुदूरपश्चिमको कायापलट गर्ने लक्ष्यसहित सुरु भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माण अभियानले अन्ततः मूर्त रूप लिने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेसँगै यस अभियानले मूर्त रूप लिने भएको हो । मन्त्रिपरिषद्ले साढे ३८ विघा क्षेत्रफल जग्गामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गरी युवा तथा खेलकुद मन्त्रालयले कार्य अघि बढाउने भएको हो ।
‘पूर्वाधार विकासलगायतका कार्यहरू अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गरी युवा तथा खेलकुद मन्त्रालयबाट अघि बढाउने,’ मन्त्रिपरिषद्ले गरेको निर्णयमा उल्लेख छ । ‘यस महागौरवको योजनालाई कार्यान्वयन गर्न उच्चस्तरीय विकास समिति निर्माण गरेकोमा अत्यन्त गौरवान्वित र हर्षित छौं,’ फाप्ला अभियानका संयोजक सुवाश शाहीले भने, ‘धनगढीको मात्र नभई सुदूरपश्चिम प्रदेशकै पहिचान, सम्मान र उत्थानलाई राज्यबाट सम्बोधन भएको यो अत्यन्तै खुसी र गौरवको अवसर हो ।’
अभियानलाई कार्यान्वयनमा ल्याई पुर्याउन अतुलनीय सहयोग गर्ने नेपाल सरकार, प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेतृ तथा सामाजिक अभियान्ता डा.आरजु देउवा, मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरू, धनगढी उपमहानगरपालिकामा नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा नापी कार्यालय कैलालीका प्रमुख तथा कर्मचारीप्रति शाहीले आभार व्यक्त गरे।
‘यस महायोजनालाई कार्यान्वयनमा ल्याउन योगदान पुर्याउनु हुने सबैमा यस योजनाको निर्माणसँगै धनगढीको कायापलट हुने र यस क्षेत्रको विकास द्रुतगतिमा दौडने विश्वास दिलाउन चाहान्छौँ,’ शाहीले भने । रंगशाला धनगढी सिटी सेन्टरभन्दा चार किलोमिटर पर अवस्थित छ । खेलग्राममा क्रिकेट रंगशालासहित जिमखाना, पौडीपोखरी, क्रिकेट म्युजियम, अभ्यास खेलमैदान, अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो तथा इन्डोर हल, फुटबल मैदान, पार्किङ, तालीम संचालन गर्ने भवन, मिडिया सेन्टर आदि संरचनाहरूको निर्माणको परिकल्पना गरिएको छ । फाप्लासँगै जोडिएको मोहना नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने परिकल्पना छ । ७० हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिने परिकल्पना छ ।
साथै रंगशाला नजिकको क्षेत्रलाई व्यापारिक, अतिथि सत्कार तथा पाककला क्षेत्रको रूपमा विकास गर्ने योजना छ । शाहीको समूहले सात वर्षअघि ड्रीम फाप्ला अभियान घोषणा गरेर रंगशाला निर्माणको अभियान छेडेका थियो । गौरचणका रूपमा रहेको फाप्लालाई क्रिकेट मैदानका रूपमा विकास गर्ने, धनगढीलाई सिटी अफ क्रिकेटका रूपमा अघि बढाउने, नेपालकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगलाई फाप्लामा आयोजना गर्दै ड्रिम फाप्ला अभियान अघि बढेको थियो ।
जग्गाको स्वामित्व नै नभएका कारण बर्सेनि रंगशालाका लागि छुट्टिने बजेट समेत कार्यान्वयन हुन नसकि फ्रिज हुँदै गएको अवस्था थियो । प्रशासनिक जटिलताका कारण यसअघि पनि पटक–पटक मन्त्रालयमा सम्म पुगिसकेको फाइल फर्किएको थियो । ‘समय घर्कदै जाँदा मैदान अलपत्र हुँदै गएको दृश्यले हामीजस्ता रंगशाला निर्माण अभियानमा सुरुदेखि खटिएकाहरूकाे मन चसक्क दुख्ने गथ्र्यो ।
मैदान अलपत्र परेको खबरहरु र बारम्बार फाप्लामा कहिलेबाट निर्माण काम अघि बढ्छ भन्ने प्रश्नहरूले हामीलाई घोचिरहन्थ्यो,’ शाही भन्छन्, ‘सरोकारवाला निकायमा आवश्यक चाँसो र सक्रियता नदेखिएपछि दिनहरू घर्किँदै गएको आभास गरी हामी आफैँले यसपटक जग्गाप्राप्ति सम्बन्धी सम्पूर्ण व्यवस्थाहरूको मिहिनढंगले अध्ययन गरी रस्थानीय निकाय, जिल्ला मालमोत कार्यालय, नापी कार्यालय, वन कार्यालय, प्रशासन कार्यालय र प्रदेश सरकारका सम्बन्धित व्यक्ति, सम्बन्धित फाँटमा हामी आफैँ पुगि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर फाइल केन्द्रमा पुर्याएका थियौँ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा मन्त्रालयका सम्पूर्ण प्रक्रिया पूरा गर्दै फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । तर त्यसबेला राजनीतिक परिवर्तनका कारण सरकार नै परिवर्तन भएपछि फाइल पुनः अड्किएको थियो । तर पनि अभियानले निरन्तरको प्रयासका कारणपछि देउवा नेतृत्वमा बनेको नयाँ सरकारले अन्ततः जग्गा दिने निर्णय गरेको छ ।





