पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोरीको मृत्यु


वीरगन्ज । पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । जीराभवानी गाँउपालिका-४ भवानीपुरमा ना४त ८१३६ नम्बरको ट्याक्टरले बा५५प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भवानीपुरकी २७ वर्षीया विद्यादेवी थरुनी र उनकी तीन वर्षीया छोरी अनन्या कुमारी रहेका छन् । छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको र आमाको वीरगन्जस्थित नेशन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महत्तो सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाथाबाट तीर्थालु लिएर फर्कंदै गरेको ट्याक्टरले भवानीपुरमा मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टर चालक पर्साको जगरनाथपुर गाउँपालिका-२ का ५० वर्षीय सुरेन्द्रराम चमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





