बारामा पसल फुटाएर मोबाइल चोरी गरेको आरोपमा ५ जना पक्राउ


बारा, माघ १७ । बारामा प्रहरीले मोबाइल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रसौनी गाउँपालिका-२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका-४ खटुवा टोलका २३ वर्षीय रम्तुलाह अन्सारी रहेका छन् ।
पसल फुटाएर विभिन्न कम्पनीका मोबाइलहरू चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा विशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर र सोही घरको पहिलो तलामा चामलको बोराभित्र ६ किलोग्राम अवैध लागू औषध गाँजा समेत फेला पारेको प्रहरीले जनाएको छ ।
उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





