रुपन्देहीमा कृषि ज्ञान केन्द्रको स्थापना


रुपन्देही । रुपन्देहीमा कृषि ज्ञान केन्द्रको स्थापना गरिएको छ । रुपन्देहीमा कार्यालय स्थापनापछि आइतबार कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
केन्द्रका सूचना अधिकारी अनिलकुमार कानु बनियाँले प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रकम बराबरका वार्षिक कार्यक्रम तय गरिएको जानकारी दिएका छन् । कार्य सम्पादनका लागि अब पाँच महिना मात्र बाँकी छ । पाँच महिना भित्र कार्यक्रम कार्यान्वयनमा ल्याई लक्ष्यअनुसारको प्रगति हासिल गर्न ज्ञान केन्द्रले रणनीतिक योजना बनाएको कार्यालय प्रमुख सन्देश धितालले बताए ।
समय कम भएकाले स्थानिय तहका कृषि प्राविधिकको सहयोगमा कार्य तालिकाअनुसार काम अगाडि बढाउने धितालले बताए । यसअघि नवलपरासी र रुपन्देही जिल्ला हेर्ने गरी परासीमा कार्यालय स्थापना गरेका थियो । यहाँका किसानहरुले रुपन्देहीमै कार्यालय स्थापनाको माग गर्दै आएका थिए । स्थानीयको मागअनुसारको सेवा प्रवाहमा कठिनाइ भएपछि प्रदेशको कृषि मन्त्रालयले रुपन्देहीमा कार्यालय सञ्चालनमा ल्याएको हो ।
कृषि ज्ञान केन्द्रले आइतबार १६ वटै स्थानीय तहका कृषि अधिकारीहरुसँग छलफल गरी समन्वय गरेर अगाडि बढ्ने बताएको छ । कार्यक्रम सञ्चालनमा स्थानीय तहका कृषि प्राविधिकले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । सम्बन्धित स्थानीयका कर्मचारीको समन्वयमा प्रदेशका कार्यक्रम सञ्चालन भए बेथिति रोकिने रोहिणी गाउँपालिका कृषि प्राविधिक सहायक जितेन्द्र यादवको भनाइ छ ।
देवदह नगरपालिकाका कृषि प्राविधिक पविन्द्र मल्ल तथा शुद्धोधन गाउँपालिकाका कृषि प्राविधिक सहायक रमेश रेग्मीले जिल्लामै ज्ञान केन्द्रको स्थापनाले काम गर्न धेरै सहज हुने बताए । केन्द्रले तथ्याङ्क अद्यावधिक गर्ने, प्राविधिक सेवा तथा प्राविधिकको क्षमता अभिवृद्धी, अल्पकालिन र दीर्घकालिन योजना तथा सुचकहरु तर्जुमा र कार्यान्वयन गर्ने, व्यवसायिक तथा दिगो खेती प्रवर्धन र उन्नत प्रविधि, सामूहिक खेती तथा बजारिकरण प्रवर्धनमा जाने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
दुई महिनाअघि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले थप चारवटा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । जस अनुसार अर्घाखाँची, नवलपरासी र गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र रुपन्देहीमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएको छ ।





