नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास


काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टि–२० विश्वकप ग्लोवल क्वालिफायरको तयारीमा रहेको नेपाली टोलीमा भारतीय प्रशिक्षक रघुराम श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ । क्यानले भारतका लेभल थ्री प्रशिक्षक श्रीनिवासलाई फिल्डिङको सल्लाहकार प्रशिक्षक नियुक्त गरिएको हो ।
उनले आजैदेखि टिममा काम सुरु गरिसकेको क्यानले जानकारी दिएको छ । नेपाली टोली दुई सातादेखि ग्लोवल क्वालिफायरका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बन्द प्रशिक्षणरत छ । यही महिना ओमानमा हुने ग्लोवल क्वालिफायरअघि नेपालले ओमानमै चारदेशीय ट्वान्टी–२० शृंखला पनि खेल्नेछ ।
नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायके र श्रीनिवासले अमेरिकाको टोलीका लागि पनि एकसाथ काम गरेका थिए । प्रशिक्षक दासानायकेले श्रीनिवासको उपस्थितिले नेपाली टोलीको फिल्डिङमा भएका कमजोरी सुधार गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘प्रशिक्षक रघु निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । हामीले अमेरिकाको टोलीमा सँगै काम गरेका छौं । उनको उपस्थितिले नेपालका फिल्डिङ कमजोरीमा सुधार आउनेछ । छोटो समयको जानकारीका बाबजुद नेपाल आउने निर्णय गरेकोमा धन्यबाद,’ प्रशिक्षक दासानायकेलाई उदृत गर्दै क्यानको वक्तव्यमा भनिएको छ ।





