नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी


काठमाडौं, माघ १६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।
युथ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको सूर्यविनायक नगरपालिका १५ का अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् । उजुरीकर्ताले एमाले अध्यक्ष ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार संप्रेशण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।
‘यसरी आफु कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवश्यक कारवाही गरी पाउ’, निवेदनमा भनिएको छ ।







