मुख्य समाचार

    गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

    जगत ठाडा मगर
    २०७८ माघ १६ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरु १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुह्वेश्वरीमा निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।

      मन्त्री आले अनुगमनका क्रममा पशुपति मन्दिर क्षेत्र, वनकाली, गुह्वेश्वरीलगायत क्षेत्रमा पुगेका थिए । सो क्रममा उनले पशुपति क्षेत्रभित्र निकै विकृति देखिएको बताए । पशुपति विकास कोषका तत्कालीन पदाधिकारीहरूले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

      उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रीका लागि छुट्टै स्थान बनाइए पनि धर्मावलम्बीलाई अप्ठ्यारो हुने गरी सडकमा नै फूलमाला बिक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताएका छन् । उनले पशुपति क्षेत्रमा निःशुल्क गाईपालनका लागि स्थान दिइएकोप्रति पनि आपत्ति जनाएका छन् ।

        कमेन्टहरु