देश

    भारतबाट अवैध रूपमा मदिरा ल्याई कारोबार गर्ने ४ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ १६ | मध्यान्ह ०१:१० बजे

      काठमाडौ, माघ १६ । भारतबाट अवैद्य रुपमा मदिरा ल्याई काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्दै आएका चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

      ३९ वर्षीय बख्रेलसहित काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका–९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।

      भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका मदिरा चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद गरेको छ । बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचार लाख बराबर रहेको प्रहरीले जनाएको छ ।

      बरामद भएका मदिराको गुणस्तर परीक्षणका लागि अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ । अनुसन्धानको क्रममा बख्रेलको योजनामा भारतबाट राजस्व छली विभिन्न ब्रान्डका मदिरा नेपालमा बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु