सहिदहरूको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार सहिद दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताएका हुन् ।
सहिदस्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै उनले यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले सहिदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरूका बारेमा युवापुस्तालाई जागरुक बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले सहिदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै सहिदहरूको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रूपान्तरण र सुशासन भएको भन्दै उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्र र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अतिकम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रूपान्तरण गर्नुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरूको योगदानलाई सम्मान गरेर देश र जनताका लागि अठोटका साथ अघि बढ्नुपर्ने बताए । उनले शहीदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।





