खेलकुद

    इकाम्बी चम्किएपछि क्यामरुन अफ्रिका कपको सेमिफाइनलमा

    जगत ठाडा मगर
    २०७८ माघ १६ | बिहान ०९:१० बजे

      काठमाडौ । आयोजक राष्ट्र क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा गाम्बियालाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टिको इकाम्बीले गरे ।

      क्यामरुनले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ५०औँ मिनेटमा इकाम्बीले गोल गर्दै क्यामरुनलाई सुरुवाती अग्रता दिलाएका थिए । इकाम्बीले कोलिन्स फाइको पासमा गोल गरेका थिए ।

      खेलको ५७औँ मिनेटमा इकाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनको अग्रता दोब्बर पारे । इकाम्बीले दोस्रो गोल मार्टिन होङ्लाको पासमा गरेका थिए । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल क्यामरुनले २-० ले जित्यो । फाइनल प्रवेशका लागि अब क्यामरुनले इजिप्ट र मोरोक्कोबीचको विजेतासँग २ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ ।

        कमेन्टहरु