डा. हर्क गुरुङ उद्यान निर्माण गरिने


लमजुङ, माघ १६ । भूगोलविद् डा. हर्क गुरुङको जन्मगाउँ मर्स्याङ्दी गाउँपालिका–७ मा ‘डा. हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा. हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख सहयोग गरेको छ।
समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी पत्नी मञ्जु गुरुङले मर्स्याङ्दी–७ का वडाध्यक्ष युवा घलेलाई रकम हस्तान्तरण गरेका छन् । उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए। तत्कालिन संविधानसभा सदस्य तथा उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गरे।
प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब ६० लाख लाग्ने अनुमान रहेको बताए। पुस्ताकालय, शालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ।
मर्स्याङ्दी–७ तराँचे ताङ्लीचोकमा १९९५ पुस २१ गते ड गुरुङ जन्म भएको थियो। विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना हुँदा डा. गुरुङ सहित २४ जनाको निधन भएको थियो। (रासस)





