८१ किलो गाँजासहित पर्साको छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ


वीरगञ्ज । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित पर्साबाट चार जनालाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरबाट सोही स्थान बस्ने गणेश साह कलवारको घरबाट पर्सा प्रहरीले ७४ किलो गाँजा बरामद गरेको छ ।
कलवारले आफ्नै घरमा गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजासहित कलवार र उनका छोरा सन्तोष साह कलवारलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
यसैगरी, बिन्दबासिनी गाउँपालिका ४ अमरपटीबाट प्रहरीले ७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा सखुवा प्रसौनी गाउँपालिका -१ दोहोरीका सुरेश दास र भारत विहार जिल्ला मोतीहारी भेलाही थाना – १ बस्ने दसाही दासलाई पक्राउ गरेको हो ।
उनीहरूले बोकेको झोलाबाट प्रहरीले सात किलो गाँजा बरामद गरेको हो । पक्राउ परेका चारै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।





