मुख्य समाचार

    भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप, कल्भर्ट बनाउने सहमति

    जगत ठाडा मगर
    २०७८ माघ १५ | मध्यान्ह ०६:१० बजे

      नवलपरासी, १५ माघ । भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्राकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति व्यहाेर्नुपर्ने समस्या देखा परेकाे प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ ।

      नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्ला अधिकारीसित (डिएम) निरन्तर संवादमा रहेकाे बताएका छन् । सीमाकाे दशगजामा १० देखि २० मीटर मात्रकाे दूरी राखेर भारतले बनाइरहेकाे ३० मीटर चाैडाइकाे सडकले पानीकाे प्राकृतिक बहाव थुनिने संकट उत्पन्न हुने कारण देखाउदै स्थानीय जनताले विराेध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरीक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएकाे बताएकाे छ ।

      भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितकाे संयुक्त निगरानीमा पानीकाे निकास बनाउनु पर्ने सहमति भएकाे छ । यसका लागि सडकमा हरेक ५०० मीटरमा कल्भर्ट बनाउने, आवश्यक रहेकाे स्थानमा ह्युम पाइप जडान गर्नुपर्ने र पानीकाे अधिक मात्राकाे बहाव रहेकाे स्थानमा पुल बनाउने कार्य एक हप्तामा शुरू गरिने सहमति भएकाे प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

      उनले भारतीय अधिकारीहरूसँगकाे भेटमा नेपाली किसानले उठाएकाे समस्या जायज रहेकाेले पानीकाे बहाव राेकिनु हुन्न भन्ने आफुले माग राखेकाे र भारतीय अधिकारीहरूले यसकाे समाधान गरिने बताएकाे जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्रले यसका साथै नेपालकाे ताल्लुक मन्त्रालयमा समेत यसकाे जानकारी गराएकाे बताए ।

      प्रमुख जिल्ला अधिकारी मिश्रले भने यसकाे पुर्ण समााधान स्थानीय स्तरबाट खाेजिनुकाे साथै नेपाल सरकारले कुटनीतिक पहल गरी समाधान सहज हुने विश्वास व्यक्त गरे ।

        कमेन्टहरु