देश

    दैलेखमा कार्यकक्षमै कर्मचारीलाई अभद्र व्यवहार गर्ने पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ १५ | मध्यान्ह १२:१० बजे

      दैलेख । दुल्लु नगरपालिका-९ को वडा कार्यालयमा कार्यरत दुई जना कर्मचारी कार्यकक्षमै अभद्र व्यवहारमा परेका छन्।

      स्थानीय युवाहरुले कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गर्नुका साथै कालो मोसो दल्ने र ज्यान मार्ने धम्की दिएको पीडित कर्मचारीले बताएका छन्।

      वडासचिव रत्नाकुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई स्थानीय ३६ वर्षीय प्रेमबहादुर भण्डारीसहित १० जना युवाहरुले कार्यालयमै पुगेर बिहान ११ बजेदेखि झण्डै दुई घण्टा बन्धक बनाएको बताईएको छ। घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारको नेतृत्वमा सुरक्षाकर्मीको टोली वडा कार्यालय पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको थियो।

      कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ का २५ वर्षीय नगेन्द्र भण्डारी, २६ वर्षीय हरीष भण्डारी, ५० वर्षीय कृष्ण भण्डारी, २५ वर्षीय ईश्वर भण्डारी, १९ वर्षीय हिमाल भण्डारी रहेको डीएसपी भुवनेश्वर प्रसाद साहले बताए। उनिहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालेको डीएसपी साहले बताए।

      डीएसपी साहका अनुसार कर्मचारीलाई अभद्र व्यवहार गर्ने कार्यमा संलग्न एक बालक पनि पक्राउ परेका छन्। बालकलाई दैलेख जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

      प्रहरीका अनुसार वडा सचिव गिरी र सामाजिक परिचालक न्यौपाने कार्यकक्षमा कामकाज गरिरहेको अवस्थामा युवाहरुले अभद्र व्यवहार गरी कालो मासो दल्न खोज्ने लगाएतका गैरकानूनी कार्य गर्न खोजेका थिए।

      उक्त घटनामा संलग्न प्रेमबहादुर भण्डारीसहित ४ जना अझै फरार छन्। उनिहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र खोजी कार्य भइरहेको डीएसपी साहले बताए।

        कमेन्टहरु