श्री एयरलाइन्सको नयाँ जहाज काठमाडौ आइपुग्यो

जगत ठाडा मगर
२०७८ माघ १५ | बिहान ११:१० बजे

काठमाडौ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन् ।
श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए ।
क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ । श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।





