समाज

    गरिब, जेहेन्दार विद्यार्थी तथा क्यान्सर पिडितलाई विविध समाग्री साथै आर्थिक सहयोग हस्तान्तरण

    जगत ठाडा मगर
    २०७८ माघ १४ | मध्यान्ह ०६:१० बजे

      रामु भुसाल

      नवलपरासी, माघ १४ । नवलपरासी सेवा समाज युएई नवलपरासी नेपालको आयोजनामा सयुक्त राहत हस्तान्तरण कार्यक्रम तथा श्री जय श्री प्रावि सुनवल ११ बेबरेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विविध समाग्री साथै क्यान्सर पिडित परिवारका बाल बालिकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम शुक्रबार सुनवलमा सम्पन्न भएको छ ।

      सस्थाका सल्लाहकार हरि न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले बैदेशिक रोजगारमा रहेका कामदारले आफ्नो गास कटाएर जिल्लामा रहेका अति विपन्न तथा गरिबहरुका लागी गरेको कार्य अति सहार्यनिय रहेको बताउदै सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषित भएको हुदा नगरले बालबालिकाको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउनुभयो ।

      सो अवसरमा प्रमुख अतिथि अर्यालले कोभिड महामारीको समयमा पनि नगरबासीहरुको स्वास्थ्यको सुरक्षा गर्दै विभिन्न गतिविधि सञ्चालन गरिरहेको र बालमैत्री नगर कायम राख्नका लागी सबै सरोकार निकाय संग सहकार्य गर्दै अगाडी बढेको बताउनुभयो ।

      उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि सुनवल ११ का वडाध्यक्ष देवीलाल डुम्रेले नगरका कोहीपनि देश वा विदेशमा समस्यामा नपरुन भन्ने उदेश्यले काम गरिरहेको बताउदै बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न अभियानहरु सञ्चालन गरेको र नागरिकलाई स्वदेशमै रोजगारी र ब्यवसाय गर्न उत्प्रेरित गर्ने उदेश्यले वडाले विभिन्न अभियानहरु सञ्चालन गरेको बताउनुभयो ।

      कार्यक्रममा वडा सदस्य दामोदर लामिछाने, समाजसेवी ईश्वरी भण्डारी, सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासीका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारी, आप्रवासी परिवार हकहित मञ्चका अध्यक्ष एवं पत्रकार रामु भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा सुनवल नगरपालिकाको विकट स्थानमा रहेको बेबरेको जयश्री प्राविका २० जना बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक समाग्री, स्कुले पोसाक र झोला वितरण गरिनुका साथै क्यान्सर पिडित परिवारलाई नगद २५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो भने विद्यालयलाई एक थान दराज र कुर्ची समेत प्रदान गरिएको थियो ।

      कार्यक्रममा नवलपरासी सेवा समाज युएईले शैक्षिक समाग्रीका साथै न्यानो कपडा प्रदान गरेको थियो भने पौडेल होम सोलुशन प्रालि सुनवल ११ नवलपरासीले स्कुले झोला र सुनवल ११ वडा कार्यालयकी कर्मचारी रमा न्यौपानेले उनिको टोपी र न्यानो मोजा प्रदान गर्नुभएको थियो । समाजले यस अगावै पनि जेष्ठ नागरिक र एकल महिलाहरुलाई पनि न्यानो कपडा र आर्थिक सहयोग गरेको र आागामी दिनमा समेत यस्ता कार्यहरु गर्दै जाने समाजका सल्लाहकार न्यौपानेले बताउनुभयो ।

      सस्थाका जिल्ला प्रतिनिधि एवं आप्रवासी परिवार हकहित मञ्च सुनवल नगर कमिटि अध्यक्ष युवराज पुन मगरको स्वागत मन्तब्य रहेको कार्यक्रम राष्ट्रिय लोकदोहारी प्रतिष्ठान नवलपरासीका सचिव भुपराज पौडेलले संचालन गर्नुभएको थियो ।

        कमेन्टहरु