देश

    पर्यटन बोर्डका सीईओ सुन तस्करीमा मुछिए

    जगत ठाडा मगर
    २०७८ माघ ३ | बिहान ०८:१० बजे

      काठमाडौं, माघ २ । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएका छन् । उनी २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा सुनसहित पक्राउ परेको खुलासा भएको हो ।

      उनीमाथि पर्यटन बोर्डले छानबिन गर्ने क्रममा कतार एयरलाइन्सको उडान नम्बर क्युआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परको खुलासा भएको हो । सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो ।

      सो मुद्दामा कसुर ठहर भइ रेग्मीलाई सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो । पर्यटन मन्त्रालयले विमानस्थल भन्सार कार्यालयलाई पत्राचार गरेर रेग्मीबारे जानकारी माग गर्दा भन्सार कार्यालयले यसबारे जानकारी गराएको हो । भन्सारले पुस ३० मा मन्त्रालयलाई लेखेको उक्त पत्र आइतबार सार्वजनिक भएको हो । यस सम्बन्धमा रेग्मीको भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

      पछिल्लो समय पर्यटनमन्त्री प्रेम आले र रेग्मीबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ । आलेले उनलाई सीईओबाट हटाएपनि सर्वोच्च अदालतले थमौती दिएको थियो ।

        कमेन्टहरु