शिक्षा

    आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

    जगत ठाडा मगर
    २०७८ पुस २७ | बिहान ०७:०९ बजे

      काठमाडौं । कोभिड–१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ ।

      २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ ।

      बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

      सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

        कमेन्टहरु