राजनीति

    माओवादी केन्द्रको बन्दसत्र सुरु

    जगत ठाडा मगर
    २०७८ पुस १२ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र सुरु भएको हो ।

      बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने कार्यक्रम छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।

      माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

      राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । सुरुमा पहिलो राष्ट्रिय सम्मेलन भनी प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशनमा रुपान्तरण गरेको हो ।

        कमेन्टहरु