देश

    १५ फिट पर्खाल नाघेर भरतपुर कारागारबाट भागे कैदि

    नवलपुर टुडे
    २०७७ मंसिर १२ | मध्यान्ह ०८:०८ बजे

      १२ मंसिर, चितवन । भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे ।
      कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ ।
      जिल्ला कारागार प्रमुख कमलप्रसाद काफ्लेले बिहीबार साँझ संख्या गन्ने बेलामा एक जना कम भएपछि बल्ल कैदी भागेको चाल पाएको बताए ।
      उनका अनुसार दैनिक खेल खेल्ने चौरबाट कारागार प्रवेश गराउनेक्रममा कैदीको संख्या गणना गर्ने गरिन्छ । विहान कैदीका नाइकेले गणना गरेर कारागार प्रशासनलाई जानकारी गराउँछन् भने साँझमा कारागार प्रशासन आफैंले गणना गर्छ ।

      ‘हरेक दिन साँझ हामी कैदीहरुको गणना गर्छौं, गणना गर्दा एक जना कम भएपछि भागेको चाल पाइयो’ काफ्लेले भने, ‘उनी भागेको झण्डै १५/२० मिनेटपछि मात्रै हामीलाई थाहा भयो ।’ कारागारबाट भागेका श्रेष्ठको खोजी भइरहेको उनले बताए ।
      गएको साउन २० गते जबर्जस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानीका लागि कारगार पठाइएको थियो । श्रेष्ठले भलिवल खेल्ने नेटको जाली खोलेर कारागारको माथिल्लो काँडेतारमा अड्काएर त्यसमै झुण्डिएर भागेको कारागार प्रमुख काफ्लेको दावी छ ।

      कारागारमा प्रहरीको ९ वटा सेन्ट्री छ । कारागारको सुरक्षाका लागि २१ जना जनपथ प्रहरी खटिएका छन् । काफ्लेले प्रहरीको ड्युटी परिवर्तन हुने मौका छोपेर कैदी फरार भएको दावी गरे । ड्युटीमा रहेको प्रहरीले आफ्नो ड्युटी अर्को साथीलाई हस्तान्तरण नगरी छाडेर हिँड्न नमिल्ने भएकोले कारागार प्रशासनले दिएको जवाफका बारेमा छानबिन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
      कारागार प्रशासन, सुरक्षा प्रशासन, आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकोले अनुसन्धान गरिने जिल्ला प्रशासन कार्यालयले नवलपुर टुडे लाई जनाएको छ ।
      घटनाका बारेमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय चितवनले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय चितवनका डीएसी र शशस्त्र प्रहरीका एक डीएसपी सदस्य छन् ।
      उनीहरुलाई तीन दिनको समय दिइएको छ ।
      शनिवारदेखि घटनाका बारेमा अनुसन्धान थाल्ने समितिको तयारी छ । २८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ जना कैदी बन्दी राखिएका छन् ।

        कमेन्टहरु