महोत्तरीबाट १०१ किलो तयारी गाँजासहित तीनजना पक्राउ


महोत्तरी । महोत्तरीबाट शसस्त्र प्रहरीले १०१ किलो ५०० ग्राम तयारी गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआइजी गणेश बहादुर ठाडा मगरले पाएको विशेष सुराकीको आधारमा उनीद्वारा खटाइएको विशेष टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
गाँजासहित दुईजना रङ्गेहात पक्राउ परेका छन् भने एकजना सोहि बीचबाट पक्राउ परेपनि उनको संलग्नताबारे अझै खुल्न सकेको छैन । जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने एकडारा – ५ गेना बथनाहास्थित खेतको बाटोबाट शसस्त्र प्रहरीको विशेष टोलीले शुक्रबार राती साढे नौ बजे उक्त सामग्रीसहित तीनैजनालाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा का गणपति एसपी सुरेश सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेमा ५० वर्षीय सुरेश यादवसहित थप एकजना रहेकोमा नाम नखुलेका मानिसको गाँजा तस्करीमा संलग्नता बारे प्रहरी अनुसन्धान पछिमात्र खुल्ने शसस्त्र प्रहरीका एसपी सापकोटाले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक प्रक्रिया पुरा गरि प्रहरीलाई जिम्मा लगाइने एसपी सापकोटाले बताए । पक्राउ परेकाहरु भरिया हुन सक्ने प्रारम्भिक अनुमान रहेपनि प्रहरी अनुसन्धानले सबै वास्तविकता पत्ता लाग्ने उनले बताए ।
उनले लागु औषध नियन्त्रणको लागि डीआईजीको कडा निर्देशन रहेकोमा सोहि अनुरुप यो भन्दा पहिला पनि करिव ८ विगाहा जग्गामा लगाइएको गाँजाको बोट फडानी गरिएको तथा सोहि दिन ४३.५ किलो तयारी गाँजासहित प्रहरीले जलेश्वर नगरपालिका ७ स्थित एक स्थानियलाई घरबाटै नियन्त्रणमा लिएको थियो । यता शुक्रबार साँझ नै शसस्त्र प्रहरीले स्रोत नखुलेको नौ लाख भारतीय रुपैयाँ समेत नियन्त्रणमा लिएको छ ।
मटिहानीस्थित गाँधी गल्लीबाट उक्त रकम सहित बिआर ०६ सिजे ७९५९ नं. को भारतीय स्कुटर र स्कुटर चालक सिमापारीको गाउँ मधवापुर १ का १७ वर्षीय अभिनव पुर्वेलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरीका एसपी सापकोटाले बताए ।





