देश

    पर्यटनमन्त्री आलेले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | मध्यान्ह ०४:०८ बजे

      पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

      निरीक्षणको क्रममा उनले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिएका हुन् । मन्त्री आलेले विमानस्थल निर्माणसँगै समस्याका रुपमा देखिएको भलपानीको निकासका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गरी तत्काल आवश्यक संरचनाहरु निर्माण गर्न निर्देशन दिएका छन् ।

      विमानस्थलभन्दा माथिल्लो क्षेत्रको पानी वर्षातको समयमा विमानस्थल हुदै बग्दा जमिन कटान हुने र भूक्षयको समेत समस्या निम्तिने औल्याउँदै त्यसको समयमै व्यवस्थापन गर्न मन्त्री आलेले निर्देशन दिएका हुन् । त्यसैगरी मन्त्री आलेले जहाज उडान गर्नका लागि अवरोध गर्ने विमानस्थलदेखि पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अगाडि बढाउन समेत आग्रह गरे ।

      विमानस्थल आसपासका नहर र बाटोको समेत निरीक्षण गरेका मन्त्री आलेले स्तरउन्नोतीसँगै आवश्यक सहयोग गर्न आयोजनालाई आग्रह गरे । विमानस्थल परिसरमा जहाजका लागि आवश्यक इन्धन भण्डारणका लागि आवश्यक हवाई इन्धनको डिपो निर्माणका लागि आवश्यक समन्वय गर्ने उनले बताए ।

      त्यसैगरी विमानस्थल निर्माणसँगै डम्पिङ साइडको स्थानान्तरणका लागि पोखरा महानगरपालिकसँग समन्वय गरेर उचित व्यवस्थापन गर्न विमानस्थल आयोजनालाई उनले निर्देशन दिए । मन्त्री आलेले विमानस्थलमा निर्माण गरिएका संरचनाहरूको गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न आग्रह गरे ।

      अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले आइकाओको मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

        कमेन्टहरु