यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने


काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई ८ विकेटको हराएसँगै फाइनल प्रतिस्पर्धीको टुंगो लागेको हो ।
लुम्बिनी यसअघि नै ६ मध्ये पाँच खेल जित्दै फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिमले ६ मध्ये चार खेल जित्दै ८ अंक जोडेर फाइनलमा स्थान बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मतीले दिएको ९५ रनको समान्य लक्ष्य सुदूरपश्चिमले २३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि नरेश भट्टले अविजित सर्वाधिक ३७ रनको योगदान गरे । राहुल भण्डारीले ३१ रन बनाउँदा वसन्त कार्कीले ११ रन जोडे ।
बलिङतर्फ वाग्मतीका प्रतिश जीसी र गौतम केसीले समान एक/एक विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको वाग्मतीले ३० ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो । वाग्मतीका लागि विवेक मगरले सर्वाधिक ३२ रनको योगदान गरे । क्रिस कार्कीले १७ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले सर्वाधिक पाँच विकेट लिए । शेर मल्लले चार विकेट झारे ।





