कञ्चनपुरमा जन्ती गएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १७ | मध्यान्ह ०२:०८ बजे

धनगढी । कञ्चनपुरमा जन्ती गएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको अर्जुनी ब्यारेक नजिकै से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार दैजीमा जन्ती पुगाएर कृष्णपुर नगरपालिकाको रैकवारविचवा फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका दुई जनासहित ७ जनालाई धनगढी रेफर गरिएको छ ।





