राजनीति

    राजनीतिक गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प छैन : केपी ओली

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | मध्यान्ह ०२:०८ बजे

      काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

      हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदबहाली कार्यक्रममा बोल्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।

      अदालतमा अहिले देखिएको समस्या पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोपसमेत लगाए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए ।

      ‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उनले भने ‘न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, सरकार नै विपरीत दिशामा अघि बढेको छ ।’ यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए ।

      वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले नै मूल्याङ्कन गरेर देशको नेतृत्व चयन गर्नुपर्ने बताए ।

        कमेन्टहरु