राजनीति

    १०औं महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित भएका ओलीले गरे पदभार ग्रहण

    जगत ठाडा मगर
    २०७८ मंसिर १७ | मध्यान्ह ०२:०८ बजे

      काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा ओलीले पदभार ग्रहण गरेका हुन् ।

      एमालेको १० अौं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका थिए । ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रियतापूर्वक साथ दिने नेतालाई पनि टिममा ल्याएका छन् । उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

      वि.सं. २०२२ सालमा कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका ओलीले २०२६ सालमा पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका उनी पनि एक थिए, त्यही वर्ष उनी जेलसमेत परेका थिए । ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेलजीवन बिताएका थिए ।

      ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिँदै निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा झापाको क्षेत्र नं ७ बाट पराजित भएका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा झापाको क्षेत्र नं ७ बाटै नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।

      विसं २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य बनेका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् ।

        कमेन्टहरु