दोलखाको जुगुमा भएको सुरक्षागार्डको हत्यामा संलग्न दुई अभियुक्त पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर १६ | मध्यान्ह ०८:०८ बजे

काठमाडौ । दोलखाको जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थाका सुरक्षागार्डको हत्या गरेको अभियोगमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका– १ का २० वर्षीय सुमन कार्की र २७ वर्षीय विक्रम कार्की रहेका छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले दोलखा गौरीशंकर गापा–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थाका सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरेका थिए ।
उनीहरूले खड्काको हत्या गरि सहकारीको एक लाख २५ हजार ७०० रुपैयाँ लुटेर फरार भएका थिए । गत १० कात्तिकमा बेपत्ता भएको खड्काको शव १२ कात्तिकमा जुगुस्थित जंगलमा डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो ।





