अरुण तेस्रोमा कार्यरत एक भारतीय मजदुरको ढुंगाले किचेर मृत्यु


काठमाडौ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक भारतीय मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ ।
चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बुधबार राति ८ बजे चिचिला–३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट ढुंगा खसेर लाग्दा सिंह घाइते भएका थिए ।
उनको बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको प्रहरी प्रमुख सुवेदीले बताए । सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन् ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा खटिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । उनले दुर्घटनाका कारणसहितको प्रतिवेदन ल्याउन प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए ।





