देश

    १६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित, महाधिवेशनपछि मात्रै हुने

    जगत ठाडा मगर
    २०७८ मंसिर १६ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौ । नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।

      आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब पार्टीको १४औं महाधिवेशन पश्चात् मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले हालसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश १ का १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।

      प्रदेश २ मा भने ८ जिल्लामा नेतृत्व चयन गर्नै बाँकी छ । प्रदेश २ मा अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने भएको छ । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन सम्पन्न भएको छैन । उक्त जिल्लामा पनि अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सुरु हुनेछ ।

      गण्डकी प्रदेशको नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

      यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन स्थगित भएको छ । कैलाली र अछाममा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशन सम्पन्न नभएका १६ जिल्लामा महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन् ।

      photo 2021 12 01 23 21 16

        कमेन्टहरु