देश

    नेपाली सेनाबाट प्रवेश गरेका ५ जना सशस्त्र प्रहरीका उच्च अधिकृत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगे

    नवलपुर टुडे
    २०७७ मंसिर ५ | मध्यान्ह ०८:०८ बजे

      मंसिर ५,काठमाडौं ।
      नेपाली सेनाबाट प्रवेश गरेका ५ जना सशस्त्र प्रहरीका उच्च अधिकृत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् ।

      सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नागेन्द्र थापा, कृष्णभक्त बज्राचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी जागिर अवधि लम्ब्याउन माग गर्दै गृह पुगेका हुन् ।

      उनीहरुले गृहसचिव महेश्वर न्यौपानेलाई सम्बोधन गरेर तालिम अवधिपछिको मिति अनुसार जागिरमा बस्न पाउनुपर्ने माग गरेका हुन् । यो माग राख्नेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र शाक्यसमेत छन् ।

      नेपाली सेनामा तालिम अवधि सकिएपछि मात्रै जागिर सुरुवात भएको मानिन्छ । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भने तालिमदेखिकै अवधिलाई भर्ना मिति मानिन्छ ।

      विगतमा यही माग गर्दै एआईजी ऋषभदेव भट्टराई, नागेन्द्र थापा लगायतले सर्वोच्च अदालतमा समेत रिट निवेदन दिएका थिए । तर, तत्कालीन न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रले उनीहरुको माग बमोजिम आदेश दिएनन् ।

      डीआईजीहरुको मागलाई गृहले अस्वीकार गरे उनीहरुले यही २८ मंसिरमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । उनीहरुको माग स्वीकृत भए १८ महिना जागिर थपिनेछ ।
      यो टोलीपछि अब सशस्त्र प्रहरीमा नेपाली सेनाबाट प्रवेश गरेका उच्च अधिकृतमा डीआईजी सीपी गौतम मात्रै बाँकी छन् ।

        कमेन्टहरु