राजनीति

    एमाले डडेल्धुराका अध्यक्ष जोशीसहित नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

    जगत ठाडा मगर
    २०७८ कार्तिक २४ | मध्यान्ह ०३:०७ बजे

      धनगढी । नेकपा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डा. तारा जोशीसहितका नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

      माओवादी केन्द्र र एमालेबीचको एकता पूर्व पार्टीका अध्यक्ष रहेका जोशीसहित उपाध्यक्ष बिरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटी लगायत तत्कालिन एमाले जिल्ला कमिटीका ७५ प्रतिशत सदस्य एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

      बुधबार डडेल्धुरामा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् । डा.जोशीले एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएका कारण आफूहरु समाजवादीमा समाहित भएको बताएका छन् ।

      उपाध्यक्ष, सचिव तथा अन्य विभिन्न भातृ संगठनका प्रमुख समेत गरेर १४ जना समाजवादीमा प्रवेश गरेको उनले जनाए । एमालेको नवौँ अधिवेशनबाट डडेल्धुराको अध्यक्षमा निर्वाचित भएका जोशीले एमाले अध्यक्ष ओलीले १० बुदे सहमति विपरीत गतिविधि गरेकाले सुदूरपश्चिममा एमालेमा तीव्र असन्तुष्टि रहेको बताए ।

      अहिले एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद छन् । साउँदले ६८ सदस्यीय कमिटिमा १३ जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दैमा पार्टीलाई खासै असर नपर्ने बताएका छन् । जिल्लामा जेठ २ लागु गरेर जोशीलाई अध्यक्ष भएर काम गर्न आग्रह गरेको तर उनीहरुले विगतदेखि नै समाजवादीमा जाने इच्छा राख्दै आएको समेत जनाएका छन् ।

        कमेन्टहरु