देश

    सडक निर्माण गर्न माग गर्दै नगर प्रमुख मिश्रद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    जगत ठाडा मगर
    २०७८ कार्तिक १६ | बिहान ०६:०७ बजे

      भक्तपुर । दुईवर्षमा सम्पन्न गर्ने गरि ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले हिजो जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

      प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हिजो पत्र बुझाएको हो ।

      कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक बिस्तारका लागि २०७१ असार २ गते शैलुङ्ग कन्ष्ट्रक्सन प्रा.लि.ले ०७३ असार ३ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरेपनि हालसम्म सडक बिस्तार सम्पन्न हुन नसक्दा स्थानीयले निकै सास्ती खेप्दै आएका छन् ।

      एक्जिम बैंक इन्डियाको रु. २८ करोड र नेपाल सरकारको ६ करोडको लगानीमा सहयोगमा शैलुङ्ग कन्ट्रक्सन र ए आई पी एलजेभीले निर्माणको जिम्मा लिएको सडक विस्तार कार्य अझै अलपत्र परेको छ ।

      सडक निर्माणका लागि पटक पटक म्याद थप भएपनि हालसम्म निर्माण पुरा नहुँदा चाँगुनारायण नगरपालिका वडा नंं ५, ६ र ७ का स्थानीय वासिन्दा तथा पर्यटकीय स्थल नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले दैनिक सास्ती खेप्नु परेको नगर प्रमुख मिश्रको भनाइ छ ।

      मिश्रले, “पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरभेटी शारदा अधिकारीले ठेक्का लिएको हो यो सडक । प्रचण्डलाई मैले नै पटक पटक भेटेर तपाइँको नाम समेत जोडिएर बदनाम भयो, यो सडक छिटो सम्पन्न गर्न लगाइदिनु पर्यो भने, उहाँले फोन गरिदिए, शारदा अधिकारीकै घरमा गएर भेटेर भनेँ तर सडक बनेन, अहिलेसम्म उस्तै हालत छ ।”

      नगर प्रमुख मिश्रले संघीयताको मर्म अनुसारउक्त सडक श्रोत सहित स्थानीय सरकारलाई हस्तान्तरण गर्न वा ठेक्का रद्ध गरि नयाँ प्रकृया शुरु गर्न आग्रह गरेका थिए । एक महिना भित्र सडक निर्माण सम्पन्न नभए जनताले जस्तो सुकै आन्दोलन गरे पनि त्यसको जिम्मेवारी नगरपालिकाले नलिने भन्दै उनले आवश्यक परे नगरपालिकाको नेतृत्वमा नगर प्रमुख र जनप्रतिनिधीले जुनसुकै कदम चाल्ने उनले बताए । उनले यसबारेमा नगरपालिकाको नवौँ नगर सभाले सर्वसम्मत रुपमा गरेको निर्णयानुसार सडक निर्माण सम्पन्न गर्न नगरपालिकाले दबाब दिने बताए ।

      नगरपालिकाको उपप्रमुख विणा बास्तोला, वडा नं. ६ का वडाध्यक्ष सन्तराम वाइबालगायतका जनप्रतिनिधी सम्मिलित टोलीले ध्यानाकर्षण पत्र बुझाएपछि प्रजिअ शर्माले सडक निर्माण सम्पन्न गर्न आफूले पनि ताकेता गरेको र सबै मिलेर समयमै सम्पन्न गर्न दबाब दिनु पर्ने बताए ।

        कमेन्टहरु